लितपुर । रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउन दोस्रो चरणको साइत हेर्ने काम आगामी बिहीबार गरिँदैछ । यस पटक हेरिने साइतले भोटोजात्रा कहिले हुन्छ भन्ने टुङ्गो लगाउनेछ ।
अहिले देवता थटिटोलमा छ । साइत जुन दिनको निस्कन्छ त्यही दिनमा जाउलाखेल लगिने ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । जाउलाखेल पुगेको चार दिनका दिन भोटोजात्रा देखाइने गरिन्छ ।
यस वर्ष आगामी जेठ २ गतेदेखि एक महिनासम्म मलमास छ । त्यसभन्दा अघि वा पछि रथलाई जाउलाखेल पुर्याइन्छ । मलमास अवधिभर रथ तान्नु शुभ मानिँदैन ।
जोशी भन्नुहुन्छ, “त्यसैले भोटोजात्राको पनि कि त मलमास पहिलेको साइत निस्कन्छ कि त त्यसपछि ।” रातो मछिन्द्रनाथको जात्राका लागि दुई चरणमा साइत हेरिन्छ । पहिलो चरणमा बुङ्गमतीबाट पाटन ल्याउनका लागि तथा दोस्रो चरणमा रथ थटिटोलमा पुगेपछि जाउलाखेल लैजानका लागि हेरिन्छ ।
थटिटोलबाट जाउलाखेलसम्मको रथयात्रालाई मछिन्द्रनाथको बाह्य लोकको भ्रमणसमेत भनिन्छ । त्रिलोक भ्रमण सम्पन्न भएपछि बाह्य लोकको भ्रमण हुने गर्छ ।
जाउलाखेलसम्मको रथ तान्नका लागि नगरका बाहिरी भागका मानिस सहभागी हुन्छन् । उहाँ भन्नुहुन्छ, “विशेष गरेर कीर्तिपुरवासी रथ तान्न आउने गरेका छन् ।”
Post A Comment:
0 comments: